भारतको पुणे जिल्लास्थित पिंपरी–चिंचवडमा सातवटा आवारा कुकुरले आक्रमण गर्दा चार वर्षीया बालिका गम्भीर घाइते भएकी छन्। आइतबार चिखली क्षेत्रमा रूखबाट पात टिप्न घरबाहिर निस्किएकी बालिकालाई कुकुरको झुन्डले करिब ४३ सेकेन्डसम्म आक्रमण गरेको बताइएको छ।
कुकुरले टाउको, हात र तिघ्रामा टोकेपछि बालिकाको टाउकोमा ८० भन्दा बढी टाँका लगाइएको छ। स्थानीयले चिच्याएको सुनेपछि तत्काल पुगेर कुकुर धपाउँदै बालिकाको उद्धार गरेका थिए।
घटनाको सीसीटीभी फुटेजमा कुकुरहरूले बालिकालाई घेरेर भुइँमा पछारेपछि सामूहिक रूपमा आक्रमण गरेको देखिएको छ। बालिकाका परिवारले क्षेत्रमा आवारा कुकुरको समस्या बढ्दै गएको भन्दै यस्ता घटना रोक्न प्रशासनसँग तत्काल कदम चाल्न माग गरेका छन्।


