कपिलवस्तु व्यापार मेला मंसिर ५ देखि, कृषि–पर्यटन र उद्योगलाई प्राथमिकता

 

कपिलवस्तु ।

 

उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा वाणगंगास्थित मायादेवी रंगशालामा ‘दोस्रो कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन एवं औद्योगिक प्रदर्शनी’ आयोजना हुने भएको छ। मेला आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

मेलामा व्यापारिक, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसँगै विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

मेलाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूले एउटै क्षेत्रमा छुट्टाछुट्टै मेला आयोजना हुँदा त्यसको औचित्य र प्रभावकारितामा प्रश्न उठ्न सक्ने भन्दै सबै पक्षको सहकार्यमा एउटै एकीकृत मेला आयोजना गर्नुपर्ने सुझाव दिएका थिए।

पत्रकारका प्रश्नको जवाफ दिँदै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण बेल्बासेले वाणगंगामा एउटै साझा मेला आयोजना गर्ने वातावरण बनाउन आफूहरू निरन्तर प्रयासरत रहेको बताउनुभयो। पटक–पटक छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएपछि पूर्वनिर्धारित तालिकाअनुसार मेला आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार मेलाले स्थानीय पहिचान, कृषि उत्पादनको प्रवर्द्धन र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यस्तै, संघका निवर्तमान अध्यक्ष **खिमानन्द पौडेल ‘कोपिल’**ले विगतमा भएको तीनपक्षीय सहमति कार्यान्वयन हुन नसक्दा दुईवटा मेला आयोजना गर्नुपर्ने अवस्था आएको बताउनुभयो। पहिलो संस्करणको सफलताबाट उत्साहित हुँदै दोस्रो संस्करणलाई थप व्यवस्थित, आकर्षक र नमुनायोग्य बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

मेलामा डान्स आइडल, मम्मी डान्स, भजन प्रतियोगिता, वाणगंगा स्तरीय गायन प्रतियोगिता तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी स्थानीय कृषि उत्पादन, औद्योगिक सामग्री तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकता दिँदै विभिन्न प्रदर्शनी स्टल राखिने आयोजकले जनाएको छ। मेलाले स्थानीय व्यवसायी, कृषक तथा उद्योगीलाई आफ्ना उत्पादन र सेवाको प्रचार–प्रसार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बासुदेव खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव माधव भाट क्षेत्रीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?