शितगंगा, अर्घाखाँची, देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव भएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला शितगंगा नगरपालिकाले उपभोक्ताको हितलाई केन्द्रमा राख्दै ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित, पारदर्शी र सहज बनाउन ग्यास व्यवसायीहरूसँग समन्वय तथा छलफल गरेको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको अनुरोधमा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो।
छलफलमा व्यवसायीहरूले हालको ग्यास आपूर्ति अवस्था, वितरण प्रणाली, उपभोक्ताको माग तथा बजारमा देखिएका व्यावहारिक समस्याबारे धारणा राखेका थिए। उद्योग वाणिज्य संघले ग्याससँगै समग्र बजार व्यवस्थापन, उपभोक्ता संरक्षण तथा अत्यावश्यक उपभोग्य वस्तुको नियमित आपूर्तिमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ग्यास अत्यावश्यक उपभोग्य वस्तु भएकाले यसको आपूर्ति कुनै पनि अवस्थामा प्रभावित हुन नहुने बताउनुभयो। उहाँले प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्यासको खरिद–बिक्रीको अभिलेख व्यवस्थित गर्न, अनावश्यक मौज्दात नगर्न तथा कानुनअनुसार व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। साथै, ग्यास उद्योग र नेपाल आयल निगमसँग समन्वय गरी जिल्लामा ग्यास आपूर्ति सहज बनाउन प्रशासनले आवश्यक पहल गर्ने जानकारी दिनुभयो।
कार्यक्रमका अध्यक्ष नगर प्रमुख छविलाल पौडेलले उपभोक्ताले सहज, सुरक्षित र उचित मूल्यमा ग्यास प्राप्त गर्ने वातावरण निर्माणका लागि सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले उद्योग वाणिज्य संघलाई यथाशीघ्र आधिकारिक ग्यास डिलरसिप लिन आग्रह गर्दै सुरक्षित, व्यवस्थित र पारदर्शी ग्यास वितरण प्रणालीका लागि नगरपालिका आवश्यक सहयोग र सहजीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको निष्कर्षमा ग्यासको कृत्रिम अभाव हुन नदिन बिक्री तथा मौज्दातको अभिलेख व्यवस्थित राख्ने, उपभोक्तालाई वास्तविक अवस्था जानकारी गराउने, पारदर्शी रूपमा कारोबार गर्ने तथा जिल्ला प्रशासन कार्यालय र शितगंगा नगरपालिकाले संयुक्त रूपमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ।
<कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस के.सी., वडा नं. ३ का अध्यक्ष चिन्ताराज अधिकारी, वडा नं. ४ का वडा अध्यक्ष दामोदर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, उद्योग अधिकृत दुर्गा न्यौपाने, योजना अधिकृत नुमलाल खनाल लगायत विभिन्न व्यापारी संघस्थाहरुको व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


