शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना लाभान्वित
कृष्णनगर नगरपालिकाको समन्वय तथा सेभ द हार्ट, काठमाडौंस्थित मिर्गौला रोग विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र र देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा शिवराज अस्पताल, बहादुरगञ्जमा सञ्चालन गरिएको निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक परीक्षण सेवा प्रदान गरेका थिए। शिविरप्रति स्थानीय नागरिकको उल्लेखनीय आकर्षण देखिएको थियो भने टाढाटाढाबाट समेत सेवाग्राहीहरू स्वास्थ्य परीक्षणका लागि पुगेका थिए। कृष्णनगर नगरपालिकासँगै विजयनगर गाउँपालिका, शिवराज नगरपालिका र महाराजगञ्ज नगरपालिकाका नागरिकहरूले पनि शिविरमार्फत सेवा लिएका छन्।
शिविरमा मुटुरोग सम्बन्धी १ हजार ६ सय ५ जना, मिर्गौला रोग सम्बन्धी ४ सय ८ जना, स्त्री तथा प्रसूति रोग सम्बन्धी ४ सय ६ जना, मानसिक स्वास्थ्य सम्बन्धी २ सय १६ जना, हाडजोर्नी तथा नसा रोग सम्बन्धी ८ सय ३० जना तथा नाक, कान र घाँटी (ईएनटी) सम्बन्धी ३ सय २० जनाले सेवा प्राप्त गरेका छन्।
त्यसैगरी, शिविर अवधिमा ५ सय ९१ जनाको ईसीजी परीक्षण, ३ सय ८१ जनाको इको परीक्षण, ३ सय ६६ जनाको एक्स-रे, ७ सय ६३ जनाको प्रयोगशाला (ल्याब) परीक्षण तथा ४ सय २३ जनाको अल्ट्रासाउन्ड (यूएसजी) सेवा प्रदान गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले विशेषज्ञ स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। उनले यस्ता कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई ठूलो राहत मिल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिइने बताए।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले शिविरबाट हजारौं नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्थाहरू र नागरिकको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताए। आगामी दिनमा पनि यस्ता जनहितमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ।
कार्यक्रमका सम्पर्क व्यक्ति डा. दुर्गेश चौधरीले अपेक्षाभन्दा बढी नागरिकको सहभागिता रहेको बताउँदै विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताए। उनले शिविरमा पहिचान भएका जटिल प्रकृतिका बिरामीहरूको थप उपचार तथा रेफरल व्यवस्थासमेत गरिएको जानकारी दिँदै स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
आयोजकका अनुसार आर्थिक अभाव तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ। स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकको उपस्थितिमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस शिविरले महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।






