कपिलवस्तु, मंसिर ६ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ स्थित सूर्योदय आधारभूत विद्यालय राष्ट्रियस्तरमा उत्कृष्ट आधारभूत विद्यालयका रूपमा सम्मानित भएको छ। प्रधानाध्यापक संघ नेपाल (PAN) को आयोजनामा जनकपुरधाममा मंसिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालित तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ मा उक्त विद्यालय लुम्बिनी प्रदेशबाट उत्कृष्ट आधारभूत विद्यालयका रूपमा सम्मानित भएको हो।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा मंसिर ४ गते सम्पन्न उद्घाटन समारोहमा विद्यालयलाई सम्मान प्रदान गरिएको थियो। सोही अवसरमा विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा योगदान पुर्याउनुभएका बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्याल तथा विद्यालयका प्रधानाध्यापक रेशमलाल खनाल पनि सम्मानित हुनुभएको छ।
‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने मूल सन्देशसहित आयोजित सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालासहित एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।
सातै प्रदेशका उत्कृष्ट विद्यालय सम्मानित
सम्मेलनमा सातै प्रदेशबाट छनोट भएका ७ वटा आधारभूत र ७ वटा माध्यमिक गरी १४ विद्यालय सम्मानित भएका छन्।
आधारभूत तहतर्फ कोशी प्रदेशबाट मेवाराजा आधारभूत विद्यालय, मधेसबाट मन मिश्र आधारभूत विद्यालय, बागमतीबाट श्री आधारभूत विद्यालय, गण्डकीबाट सरस्वती आधारभूत विद्यालय, लुम्बिनीबाट सूर्योदय आधारभूत विद्यालय कपिलवस्तु, कर्णालीबाट बलभद्र आधारभूत विद्यालय र सुदूरपश्चिमबाट बालमन्दिर आधारभूत विद्यालय सम्मानित भएका छन्।
त्यसैगरी माध्यमिक तहतर्फ कोशीबाट फिदिम माध्यमिक विद्यालय, मधेसबाट जनता नमुना माध्यमिक विद्यालय, बागमतीबाट जनप्रिय माध्यमिक विद्यालय, गण्डकीबाट पञ्चदेवमुनी माध्यमिक विद्यालय, लुम्बिनीबाट सिद्धबाबा माध्यमिक विद्यालय, कर्णालीबाट त्रिपुरेश्वर माध्यमिक विद्यालय र सुदूरपश्चिमबाट मालिकार्जुन माध्यमिक विद्यालय सम्मानित भएका छन्।
१४ प्रधानाध्यापक र १५ स्थानीय तह पनि सम्मानित
सम्मेलनमा सातै प्रदेशका उत्कृष्ट आधारभूत र माध्यमिक तहका गरी १४ जना प्रधानाध्यापकलाई समेत सम्मान गरिएको थियो।
आधारभूत तहतर्फ राजेशप्रसाद यादव, प्रेमकुमारी यादव, बिनिता रञ्जित, विश्वमोहन पोखरेल, गङ्गा शर्मा, ज्ञानु गुरुङ र मानसिंह ऐर सम्मानित हुनुभएको थियो।
माध्यमिक तहतर्फ डा. इन्द्रमोहन झा, गौरीशंकर चौधरी, दलबहादुर बल, शान्त नेपाली, मोहनप्रसाद सापकोटा, खड्क रोकाया र लक्ष्मणदत्त भट्ट सम्मानित हुनुभएको थियो।
यसैगरी स्थानीय सरकारतर्फ भरतपुर महानगरपालिका, सातै प्रदेशका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकासहित १५ स्थानीय तहलाई सम्मान गरिएको थियो। लुम्बिनी प्रदेशबाट शिवराज नगरपालिका र गुल्मीको धुर्कोट गाउँपालिका पनि सम्मानित भएका छन्।
शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति स्वर्गीय प्रा.डा. सुरेशराज शर्मालाई मरणोपरान्त राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट अनलाइनखबरका दिनेश गौतम र अन्नपूर्ण पोस्टकी मणिका झा सम्मानित हुनुभएको थियो। उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको थियो।
सम्मानित व्यक्ति तथा संस्थाहरू छनोट गर्न प्रधानाध्यापक संघ नेपालले प्रा.डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो। समितिका सदस्यहरूमा रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे रहनुभएको थियो।
प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमका अनुसार विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक नेतृत्वको सुदृढीकरण, नवीन शैक्षिक अभ्यास तथा सामुदायिक शिक्षाको रूपान्तरणमा योगदान पुर्याएका व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको हो।
सम्मेलनको अन्तिम दिन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, समतामूलक शैक्षिक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक नेतृत्व विकासका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गर्ने कार्यक्रमसमेत रहेको थियो।
सूर्योदय आधारभूत विद्यालयले राष्ट्रियस्तरमा प्राप्त गरेको यस सम्मानले बाणगंगा नगरपालिका वडा नं. ८ मात्र नभई समग्र कपिलवस्तु जिल्लाकै शैक्षिक क्षेत्रमा गौरव थपेको छ।
विद्यालयको शैक्षिक विकास र संस्थागत सुधारमा वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीचको सहकार्य महत्वपूर्ण रहेको छ।
राष्ट्रियस्तरको सम्मान प्राप्त गर्न सफल सूर्योदय आधारभूत विद्यालय परिवार, प्रधानाध्यापक रेशमलाल खनाल तथा विद्यालयको विकासमा योगदान पुर्याउनुहुने वडा अध्यक्ष बाबुराम अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।


