२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

शितगंगा ५ को जुकेना स्वास्थ्य चौकीमा विगत आठ महिना देखि २४ घण्टे प्रसुति सेवा बन्द सेवा ग्राही मर्कामा

 

बिक्रम आचार्य / शितगंगा (अर्घाखाँची) । नेपालकै भौगोलिक हिसाबले सबैभन्दा ठूलो नगरपालिका शितगंगाको वडा नं. ५ स्थित जुकेना स्वास्थ्य चौकीमा विगत आठ महिनादेखि २४ घण्टे प्रसूति सेवा पूर्ण रूपमा बन्द भएको छ। भवनको भित्तामा ‘२४ घण्टे प्रसूति सेवा’ ठुला अक्षरमा लेखिए पनि व्यवहारमा सेवा शून्य हुँदा स्थानीय बासिन्दा र गर्भवती महिलाहरू गम्भीर मर्कामा परेका छन्।

​आर्थिक वर्ष २०८१/८२ को पौष महिनादेखि जनशक्ति अभावको कारण देखाउँदै यो सेवा रोकिएको हो। स्वास्थ्य चौकी प्रमुख सुशील भाट क्षेत्रीका अनुसार, ‘बर्थिङ सेन्टर’ सञ्चालनका लागि अनिवार्य मानिने SBA (Skilled Birth Attendant) तालिम प्राप्त एएनएमको व्यवस्था नहुँदा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ। “हामीले व्यवस्थापन समिति मार्फत पटक-पटक स्वास्थ्य शाखामा पत्राचार र बैठकहरूमा जानकारी गरायौँ, तर हालसम्म कुनै सुनुवाइ भएको छैन,” क्षेत्रीले बताए। लामो समयदेखि बन्द रहेको ल्याब सेवा भने हालै सुचारु भएको उनले जानकारी दिए।

​जुकेना स्वास्थ्य चौकीले शितगंगाका वडा नं. ४, ५, ६, ७ र १० का बासिन्दाका अतिरिक्त छिमेकी जिल्ला प्यूठान, झिमरुक गाउँपालिका र भूमिकास्थान नगरपालिकाका सीमावर्ती क्षेत्रलाई समेत सेवा दिँदै आएको छ। यो वडा शितगंगा नगरपालिकाका नगर प्रमुखको आफ्नै वडा समेत हो। आफ्नै वडाको संवेदनशील स्वास्थ्य सेवा ठप्प रहँदा पनि जनप्रतिनिधि र व्यवस्थापन समितिले ध्यान नदिनु नगरपालिकाको लापरवाहीपूर्ण कर्मचारी व्यवस्थापनको नतिजा भएको स्थानीयको आरोप छ।

​नगरपालिकामा अन्यत्र SBA तालिम प्राप्त कर्मचारीहरू उपलब्ध हुँदाहुँदै जुकेना जस्तो ठूलो कार्यक्षेत्र भएको केन्द्रमा कर्मचारी नखटाउनुले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ। नियमित गर्भजाँच, सुरक्षित प्रसूति र सुत्केरीपछिको (PNC) जाँच प्रभावित हुँदा विपन्न नागरिकहरू महँगो शुल्क तिरेर टाढाका अस्पताल जान बाध्य छन्। स्थानीयवासीले तत्काल दक्ष जनशक्तिको व्यवस्था गरी २४ घण्टे सेवा सुचारु गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (100%)
  • खुसी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकामा  २९९ जना किशोरी लाई HPV खोप लगाउने लक्ष्य

0

कपिलवस्तु ३ मा काँग्रेसमा युवा निर्वाचन कमाण्डर

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?