काठमाडौँ, साउन ९ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान समयसापेक्ष परिमार्जन हुनुपर्ने स्पष्ट पार्दै राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई दिने प्रस्तावमा आफू सहमत रहेको बताएका छन्।
शहीद स्मृति प्रतिष्ठानले वरिष्ठ समाजवादी चिन्तक एवं लोकतान्त्रिक आन्दोलनका अगुवा ढुण्डिराज शास्त्रीको ४५औँ स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजना गरेको विचार गोष्ठीमा सम्बोधन गर्दै देउवाले संविधानको संरचना र अभ्यासमा लचिलोपन आवश्यक रहेको उल्लेख गरे।
“संविधान संशोधनको आवाज उठ्नु स्वाभाविक हो,” उनले भने, “संविधान सबैले स्वीकारे पनि समयअनुसार केही संरचनागत विषयहरू परिमार्जन हुनैपर्छ।”
देउवाले राष्ट्रिय सभाको अध्यक्ष पद उपराष्ट्रपतिलाई दिने प्रस्ताव उपयुक्त भएको उल्लेख गर्दै भने, “ओलीजीले जुन कुरा गर्नुभएको छ—राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउनु पर्छ भन्ने—म पनि त्यसमा सहमत छु।”
उनले भारतलगायत अन्य लोकतान्त्रिक मुलुकहरूमा त्यस्तै अभ्यास रहेको उदाहरण दिँदै नेपालको संविधानले पनि समयअनुसार लचिलोपन देखाउनुपर्ने बताए ।
कार्यक्रममा देउवाले नेपालका कम्युनिष्ट दलहरू व्यवहारमा प्रजातान्त्रिक समाजवादी चरित्रमा काम गरिरहेको विश्लेषण गरे।
“नाममा कम्युनिष्ट भए पनि व्यवहारमा सबै पार्टीहरूले डेमोक्रेटिक सोसलिस्ट पार्टीझैँ काम गरिरहेका छन्,” उनले भने।
कार्यक्रमको अध्यक्षता शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलनाथ दाहालले गरेको
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी लगायतले स्व. शास्त्रीको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
अध्यक्ष दाहालले शास्त्रीलाई “लोकतान्त्रिक आन्दोलनका अडिग योद्धा र विचारशील चिन्तक” को रूपमा स्मरण गर्दै भने, “उहाँको जीवन सत्य र लोकतन्त्रप्रतिको निष्ठाको जीउँदो दस्तावेज हो।”
शास्त्रीका सुपुत्र नवीन पौडेलले पारिवारिक दृष्टिकोणबाट उहाँको योगदान र लगावबारे धारणा राखेका थिए।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्यहरु पुष्पा भुसालसहित संघीय तथा प्रदेश नेताहरू, सञ्चारकर्मी, समाजसेवी र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो ।
वक्ताहरूले वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास र संरचनाबारे गम्भीर बहस र समिक्षा आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिवले गरेका थिए भने स्वागत मन्तव्य नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल पूर्व सचेतक तथा शहीद स्मृति प्रतिष्ठान केन्द्रिय सदस्य निर्मला क्षेत्रीले गरेकी थिइन ।






