८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

शितगंगा नगर कमिटीको नगरस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

 

नेकपा एमाले अर्घाखाँचीले ‘जरा अभियान’ अन्तर्गत चैत महिनाभर वडा, नगर तथा जिल्ला तहमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरूप जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शितगंगा नगर कमिटीको आयोजनामा सम्पन्न नगरस्तरीय प्रशिक्षण कार्यक्रममा नगर कमिटी सदस्यहरू तथा विभिन्न कमिटीमा रहेका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनप्रतिनिधि र जनताको सम्बन्ध मजबुत बनाउने विषयमा गहन छलफल गरिएको थियो।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बिशिष्ट अतिथिका रूपमा प्रदेश कमिटी सदस्य बसन्त कुमार श्रेष्ठ, प्रदेश सदस्य तथा शितगंगा नगर इञ्चार्ज भीम केसी, जिल्ला कमिटी उपसचिव शिवकला बिक, जिल्ला कमिटी सदस्य ओपी पाण्डे तथा प्रदेश तथा जिल्ला पार्टी सल्लाहकार समितिका सदस्यहरूको पनि सहभागिता थियो। प्रमुख अतिथि पिताम्बर भुसालले पार्टी संगठन विस्तार र सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताउँदै स्थानीयस्तरबाटै कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले संगठन बलियो हुँदा मात्र नीति(निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुनसक्ने उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिहरूले जनताको भावना अनुरूप काम गरे मात्र एमाले अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो।

 

 

प्रदेश सदस्य भीम केसीले पार्टीका सक्रिय कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने बताउँदै गणतन्त्रको विरोध गर्ने तत्वहरू एमालेविरुद्ध संगठित रूपमा लागेको आरोप लगाउनुभयो। प्रदेश कमिटी सदस्य बसन्त कुमार श्रेष्ठले केही प्रतिगामी शक्तिहरू एमालेलाई कमजोर बनाउन षड्यन्त्र गरिरहेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई एकताबद्ध भएर पार्टीको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता शितगंगा नगर कमिटीका अध्यक्ष सञ्जय रानाले गर्नुभएको थियो। उहाँले प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्ताहरूलाई धन्यवाद दिँदै पार्टी संगठनलाई अझ मजबुत बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। प्रशिक्षण कार्यक्रममा पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न उपायहरूबारे चर्चा गरिएको थियो। सहभागी नेताहरूले संगठनलाई मजबुत बनाउन कार्यकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताए। प्रशिक्षणका क्रममा स्थानीयस्तरमा संगठन विस्तार, कार्यकर्ताहरूको क्षमता अभिवृद्धि, जनताको मन जित्ने नीति, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, र संगठन विरोधी तत्वहरूसँग सामना गर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले प्रशिक्षण कार्यक्रम अत्यन्त फलदायी भएको बताउँदै सिकेका कुराहरू व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाए। उनीहरूले पार्टी नीति, विचारधारा तथा संगठन सुदृढीकरणका उपायहरूबारे विस्तृत ज्ञान हासिल गरेको प्रतिक्रिया दिए। नेकपा एमाले अर्घाखाँचीले आगामी दिनहरूमा थप प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। पार्टी संगठनलाई बलियो बनाउने र जनतासँगको सम्बन्ध अझै मजबुत पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?