सन्धिखर्क । सन्धिखर्क नगरपालिकाले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाअन्तर्गत कार्यरत कर्मचारीको एक हप्ताको तलब राष्ट्रिय विपद् राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार नगरपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको खुद तलबभत्तामध्ये एक हप्ता बराबरको रकम कट्टा गरी राष्ट्रिय विपद् राहत कोषमा जम्मा गरिनेछ ।
आज बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीबाट ठूलो भौतिक तथा मानवीय क्षति भएको भन्दै नगरपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति नगरपालिकाले गहिरो समवेदना समेत प्रकट गरेको छ ।विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै सहयोग पुर्याउने उद्देश्यले कर्मचारीको तलबबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनुभयो ।नगरपालिकाको यो निर्णयले विपद्को समयमा सबै क्षेत्र एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ । साथै, विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रसहित आम नागरिकबाट समेत सहयोग प्राप्त हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।


