अर्घाखाँचीको शीतगंगा नगरपालिका रजिया नजिकै ९ सय ३४ मिटर उचाइँमा बाघ भेटिएको छ। पाल्पा र अर्घाखाँचीमा क्यामरा ट्रयापमार्फत तीन वटा वयस्क बाघ अभिलेख भएका छन्। पाल्पा र अर्घाखाँचीमा तीन वटा बाघको अभिलेख भएको छ । यहाँ भेटिएका तीन वटै बाघ वयस्क छन् ।
त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागद्वारा पाल्पा र अर्घाखाँचीमा गरिएको क्यामरा ट्रयापमा बाघ परेपछि अभिलेख भएको हो । विभागद्वारा लुम्बिनी प्रदेशमा वन्यजन्तुको अवस्था पत्ता लगाउन भएको अध्ययनमा यी दुई जिल्लामा बाघ देखिएका हुन् ।
पाल्पाको माथागढी गाउँपालिकाको माथागढी किल्ला आसापास १ हजार १ सय १० मिटर उचाइँमा बाघ भेटिएको छ । त्यस्तै पाल्पाकै तिनाउ गाउँपालिकाको झुम्सा खोलामाथि डाँडा लगरभन्ने ठाउँको ५ सय ३६ मिटर उचाइँमा पनि बाघ क्यामरा ट्रयापमा परेको हो ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका रजियानजिकै पनि एउटा बाघ क्यामरा ट्रयापमा अभिलेख भएको छ । यहाँ ९ सय ३४ मिटर उचाइँमा बाघ भेटिएको हो । पाल्पाका ४४ र अर्घाखाँचीमा ५० वटा क्यामरा ट्रयाप राखिएका थिए ।अर्घाखाँचीमा फागुन ४ र ५ मा क्यामरा राखेर टोलीले अनुगमन गरेको थियो ।अर्घाखाँचीमा फागुन ३० मा दुई वटा क्यामरामा दुई वटा बाघ देखिए पनि एउटै बाघ दुई पटक देखिएको अनुमान गरिएको छ। शीतगंगामा एउटै क्यामरामा बाघसँगै चितुवा पनि क्यामरा ट्रयापमा परेको थियो । अर्घाखाँचीमा १९/२० वटा चितुवा परेका छन् ।
नेपालमा निकुञ्ज र संरक्षित क्षेत्रमा अहिले बाघ गणना भइरहेको छ । गैरसंरक्षित क्षेत्रमा पनि यसरी बाघ अभिलेख हुनुले बाघको संख्या अझ बढ्ने देखिएको छ । यसअघि सन् २०१८ मा पहिलो पटक रुपन्देही, कपिलवस्तु र पाल्पाको सीमा क्षेत्रमा बाघ देखिएको थियो ।






