देशका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या १ सय जनाभन्दा कम

घट्दो जनसङ्ख्या, बढ्दो बसाइँसराइ र शहरी क्षेत्रमा निजी विद्यालयको प्रभावसँगै देशका ५० प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी हुन पुगेका छन् । सार्वजनिक शिक्षाको सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट पहल जारी रहे पनि कुल सामुदायिक (सरकारी) विद्यालयमध्ये आधाभन्दा बढीमा सय जनाभन्दा कम विद्यार्थी देखिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्खरै सार्वजनिक गरेको शैक्षिक सूचना २०८० मा सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या १५ हजार ९ सय ६५ वटा उल्लेख छ । यो सङ्ख्या कुल सामुदायिक विद्यालयको सङ्ख्या (२७ हजार ९ सय ९०) को ५७ दशमलव ०३ प्रतिशत हो । आर्थिक वर्ष २०७६÷७७ मा सयभन्दा कम भएका सामुदायिक विद्यालयको सङ्ख्या १४ हजार रहेकामा विद्यालय समायोजन (मर्ज) को नीतिसमेत सञ्चालन भएको स्थितिमा अहिले कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या झन् बढेको देखिएको छ ।

सयदेखि ५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ९ हजार ७ सय ४, ५ सय १ देखि १ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १ हजार ६ सय ३६, १ हजार १ देखि १ हजार ५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४ सय ९, १ हजार ५ सय १ देखि २ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १ सय ३६ र २ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या १ सय रहेको छ । अहिले २ हजार ७ हजार ९ सय ९० सामुदायिक र ७ हजार ८ सय ८६ संस्थागत (निजी) गरी कुल ३५ हजार ८ सय ७६ विद्यालय (आधारभूत तहदेखि कक्षा १२ सम्म) छन् । २०७९ सालमा सामुदायिक, संस्थागत र धार्मिक गरी ३६ हजार ५ सय २ विद्यालय रहेका थिए ।

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार २०८० सालमा सामुदायिक र संस्थागत दुवैमा गरी आधारभूत तह कक्षा ५ सम्म १७ हजार ६ सय १७, आधारभूत तह कक्षा ८ सम्म ६ हजार ७ सय ६७, माध्यमिक तह कक्षा १० सम्म ६ हजार ६ सय ७२ र माध्यमिक तह कक्षा १२ सम्म ४ हजार ८ सय २० विद्यालय रहेका छन् ।

सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रमको नक्शाङ्कन गरी पुनर्संरचना गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न पालिकालाई प्रोत्साहित गर्ने, विभिन्न क्षेत्रमा सीप विकासका लागि कक्षा १० उत्तीर्ण विद्यार्थीका लागि विशेष कार्यक्रम लागू गर्ने योजना छ ।

शिक्षा प्रणालीमा परिमार्जन गर्ने लक्ष्य लिएको यस नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकबाट नयाँ पुस्ताका बालबालिका तथा युवावर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण गर्न आवश्यक प्रबन्ध गरिने र विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाई शिक्षण सिकाइमा रहेको असमानता कम गर्न र गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?