शितगंगा नगरपालिका वडा नं. ११ अन्तर्गतको टिक्करमा वडाको शाखा कार्यालय स्थापना गरिएको छ । शितगंगा नगरपालिकाको ठुलो र बकट क्षेत्र रहेको ११ नम्बर वडा१४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तथा भौगोलिक रूपमा विकट मानिने यस वडामा शाखा कार्यालय स्थापना भएपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस अघि जनताको सहजताकै लागि कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९, इमिलियामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो। त्यसैले खयरभट्टी, इमिलिया समेत कार्यालय स्थापना भए पनि सञ्चालनमा नरहेको र आफु वडा अध्यक्ष भएर आए सँगै कार्यालय सञ्चालन गरेर सेवा प्रदान गरेको वडा अध्यक्ष नवराज भुसालले बताउनु भयो । यस क्षेत्रका जनतालाइ सेवा प्रवाहमा निकै टाढा भएकोले पनि चुनावकै समयमा वडा कार्यालय स्थापना गरेर सेवा दिने भने अनुसार नै कार्य सम्पन्न भएको स्थानियले बताएका छन । नँया स्थापना भएको टिक्कर कार्यालय गरी तीन स्थानमा पालो गरेर दुई÷दुई दिनका दरले सेवा प्रवाह गरिँदै आएका वडा अध्यक्ष भुसालले बताउनु भयो ।
टिक्करस्थित नयाँ वडा कार्यालय स्थानीयस्तरमै निर्माण गरिएको हो। भाडामा सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै भवनमा सरेको छ। कार्यालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय समाजसेवी नारायण प्रसाद आचार्य र तुल बहादुर कुँवरले निःशुल्क उपलब्ध गराउनु भएको थियो । कार्यालय निर्माणमा शितगंगा नगरपालिका, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा विभिन्न सामुदायिक वनहरूको आर्थिक सहयोग रहेको वडा अध्यक्ष नवराज भुसालले जानकारी दिनुभयो।
नव निर्मित कार्यालयको उद्घाटन शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले गर्नुभयो। सो अवसरमा वडा नं. १० का अध्यक्ष केशब बेल्बासे, वडा नम्बर १२ का वडा अध्यक्ष चोप बहादुर घम, कार्यपालिका सदस्य बोम बहादुर विक, विष्णु भट्टराईलगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले कार्यालय स्थापनासँगै सेवा प्रवाहमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरेका छन । वडा अध्यक्ष नवराज भुसालले आगामी दिनमा थप जनमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले अब सजिलै गाउँमै सेवा पाउने भएकाले खुशी व्यक्त गरेका छन्। नयाँ कार्यालय निर्माणसँगै वडाले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा प्रभावकारी योजना लागू गर्ने तयारी गरेको जनाएको छ।