कपिलवस्तु, साउन १७ ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा सर्भरमा बारम्बार समस्या आएपछि ज्येष्ठ नागरिक तथा सेवाग्राहीलाई अनावश्यक सास्ती नहोस् भन्ने उद्देश्यले बाणगंगा नगरपालिका–८ वडा कार्यालयले सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गरेको छ।
शनिबार र आइतबार बिहान ७ बजेदेखि नै वडा कार्यालय सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता नवीकरणको कामलाई तीव्रता दिइएको हो। अन्य सरकारी कार्यालयहरू बिदाका कारण बन्द हुने र सर्भरले बिदाको दिन तुलनात्मक रूपमा राम्रोसँग काम गर्ने अनुमानका आधारमा वडा कार्यालयले यस्तो व्यवस्था मिलाएको जनाएको छ।
वडा कार्यालयमा बिहानैदेखि ज्येष्ठ नागरिक, एकल महिला तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको उल्लेख्य उपस्थिति देखिएको थियो। कर्मचारीहरू पनि बिदाको दिनसमेत सेवामा खटिएर सेवाग्राहीलाई सहज रूपमा भत्ता नवीकरण गराइरहेकको वडा सदस्य शैलेन्द्र वेल्वासेले जानाकारी दिनु भयो ।
सेवाग्राहीले बिदाको दिनसमेत कार्यालय खोली सेवा प्रदान गरेकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरेका छन्। नागरिकमैत्री सेवा प्रवाह र सेवाग्राहीको सुविधालाई प्राथमिकता दिँदै बाणगंगा–८ वडा कार्यालयले देखाएको सक्रियता अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बनेको छ।







