अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार पिताम्बर भुसालले मतदातासँग विश्वासको मत माग्दै घरदैलो र चुनावी कार्यक्रम लाई आजबाट छोट्टाउदै छ ।मौन अवधि सुरु हुन केही समय मात्रै बाँकी रहँदा जिल्लाभर सञ्चालन गरिएको चुनावी कार्यक्रम आजबाट औपचारिक रूपमा सम्पन्न गरिने एमालेले जनाएको छ।
चुनावी अभियानका क्रममा विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गरेका भुसालले आफू सबै स्थानमा प्रत्यक्ष रूपमा पुग्न नसकेको स्वीकार गर्दै सम्पूर्ण जिल्लाबासीसँग विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका छन्।
भुसालले अर्घाखाँचीको समग्र विकासलाई आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पार्दै सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउँदै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरी जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।
यस्तै पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोप बहादुर रायमाझीले आफ्ना सपना र अधुरा कामलाई पूरा गर्ने दायित्व सहित भुसाल उम्मेदवार रहेकोले सबै जिल्लाबासीमा आग्रह गर्नु भयो ।एमाले अर्घाखाँचीले मौन अवधि सुरु हुनुअघि जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका चुनावी सभामार्फत पार्टीका एजेन्डा र योजनाहरू सार्वजनिक गरेको जनाएको छ।
पार्टीका नेता–कार्यकर्ताहरूले पछिल्लो केही सातादेखि घरदैलो, कोणसभा र भेटघाट कार्यक्रमलाई तीव्रता दिएका थिए।चुनावी सभामा बोल्दै एमालेका अन्य वक्ताहरूले स्थिर सरकार, विकास निर्माणमा तीव्रता र जनताको जीवनस्तर उकास्ने कार्यक्रम एमालेको प्राथमिकतामा रहेको बताएका थिए।
मतदानको मिति नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। विभिन्न दलका उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा लिएर मतदाता समक्ष पुगिरहेका छन्। मौन अवधि सुरु भएसँगै प्रचार–प्रसारका कार्यक्रम बन्द हुने भए पनि मतदाताबीचको चासो भने झनै बढ्दै गएको देखिन्छ।एमालेका उम्मेदवार भुसालले अन्तिम सन्देश दिँदै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका छन्।






