अर्घाखाँचीको शितगंगा नगरपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकाबीच असल अभ्यास आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।स्थानीय तहबीच अनुभव साटासाट गर्दै सेवा प्रवाह र विकासका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल, उपप्रमुख गीता भाट, प्रशासकीय अधिकृत नुमलाल खनाल, वडा अध्यक्षहरू चिन्तराज अधिकारी, नवराज भुसाल, दामोदर न्यौपाने, कार्यपालिका सदस्य गंगा थापा लगायतको सहभागिता रहेको थियो।यस्तै रेसुङ्गा नगरपालिकाका तर्फबाट उपप्रमुख अमृता देवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शितगंगा नगरपालिकाका योजना शाखा प्रमुख प्रशासकीय अधिकृत नुमलाल खनालले नगरपालिकाले हालसम्म गरेका असल अभ्यास, ती अभ्यास कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सम्भावित अवसरबारे प्रस्तुति दिनुभएको थियो। रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले आफ्नो नगरपालिकामा कार्यान्वयनमा रहेका अभ्यास र सुधारका प्रयासबारे जानकारी गराउनुभएको थियो ।
अनुभव आदान–प्रदानका क्रममा भौगोलिक विकटताले विकासमा पार्ने प्रभाव, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकास, राजस्व संकलन लगायतका विषयमा दुबै नगरपालिकाबीच व्यापक छलफल भएको थियो।
साथै रेसुङ्गा नगरपालिकाले नगरसभाबाट वडा विभाजनको निर्णय गरेको सन्दर्भमा त्यसको कानुनी प्रक्रिया सम्बन्धी विषयमा शितगंगा नगरपालिकाले चासो व्यक्त गरेको थियो।
शितगंगा नगरपालिका पनि भौगोलिक रूपमा विकट रहेको उल्लेख गर्दै रेसुङ्गा नगरपालिकाले अपनाएको वडा विभाजनसम्बन्धी अभ्यास शितगंगामा पनि लागू गर्न सकिने कि नसकिने विषयमा समेत छलफल गरिएको छ। कार्यक्रममा स्थानीय तहहरूबीच सहकार्य र सिकाइलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।






