शितगंगा नगरपालिका–११ का वडाअध्यक्ष नवराज भुसालले गोरुसिङ्गे–सन्धिखर्क सडक हुँदै सुपादेउराली धाम आउने पर्यटक तथा सर्वसाधारणको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
उहाका अनुसार सुपादेउराली आउने पर्यटकको सवारी साधन, यात्रु तथा मालबाहक गाडीहरूको भीडका कारण दिनमा सडकमा अत्यधिक समस्या देखिने भएकाले टिप्पर, ट्रकलगायतका भारी सवारी साधनलाई रातको समयमा मात्र आवतजावत गर्ने व्यवस्था मिलाउन सके ठूलो सहजता हुने बताउनु भयो ।
वडाअध्यक्ष भुसालले दिनको समयमा भारी सवारी साधन चल्दा पर्यटक तथा आम नागरिकले धेरै कठिनाइ भोग्नुपर्छ। यदि रातमा मात्र ती गाडी सञ्चालन हुने व्यवस्था मिलाइयो भने पर्यटक संख्या समेत बढ्नेछ र सडक प्रयोगकर्ताले सुरक्षित तथा सहज यात्रा गर्न सक्नेछन्।”
यस विषयमा नगरपालिकास्तरमा प्रस्ताव पेश गर्ने साथै स्थानीय व्यवसायी तथा सरोकारवालासँग छलफल गर्दै व्यावहारिक रूपमा लागू गर्न सकिने व्यवस्था मिलाउन पहल गर्ने जानकारी दिनुभयो।
भुसालले सन्धिखर्क–गोरुसिङ्गे सडकलाई सुपादेउराली पर्यटन प्रवर्द्धनको मुख्य मार्ग मान्दै, जिल्ला स्तरका सबै सरोकारवालालाई सहयोग र ध्यानाकर्षण गराउन हार्दिक अपिलसमेत गर्नु भयो ।






