लुम्बिनी प्रदेशको शितगंगा नगरपालिका वडा नं. १२ हिलेखोलामा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्र स्थापना गर्न लागिएको छ। यसका लागि भवन शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुमिस्वर ढकाल र शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
ध्यान केन्द्रको शिलान्याससँगै शितगंगा क्षेत्रमा आध्यात्मिक पर्यटकीय विकासको सम्भावना थपिएको छ। यो ध्यान केन्द्र सुप्रध्यान इन्लाइटेनमेन्ट सेन्टर (शब्द चिन्तन आश्रम) द्वारा निर्माण गरिँदैछ। ध्यान र अध्यात्मप्रति जनचेतना जगाउने तथा अन्तर्राष्ट्रिय स्तरमा ध्यान अभ्यासका लागि आकर्षणको केन्द्र बनाउने उद्देश्यले यो परियोजना अघि बढाइएको संस्थाका अध्यक्ष दुर्गादासले बताउनु भयो ।
सुप्रध्यान इन्लाइटेनमेन्ट सेन्टरका अध्यक्ष दुर्गादासका अनुसार यो ध्यान केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको छ। ध्यान केन्द्रले ध्यान, योग, अध्यात्मिक चिन्तन र व्यक्तित्व विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेछ। साथै, यो केन्द्रले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले समेत शितगंगाको महत्त्व बढाउने विश्वास गरिएको छ।
भवन शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भुमिस्वर ढकाल, शितगंगा नगर प्रमुख छबिलाल पौडेल, लुम्बिनी प्रदेश योजना आयोगका सचिव खेम कुँवर, अध्यक्षहरू दामोदर अधिकारी , चोप बहादुर घम,समाजसेवी बसन्त श्रेष्ठ, सञ्जय राना, बाबुराम गैरे, माधव अधिकारी, तिलक अधिकारी, जीवन सिञ्जाली, रामु बस्याल, सुर्य श्रेष्ठ, हरि गैरेलगायत स्थानीय अगुवाहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै मन्त्री ढकालले ध्यान केन्द्रको निर्माणले शितगंगाको पहिचान मात्र वृद्धि नगरी, यस क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो। योगको सुरुवात नेपालबाटै भएको प्रमाणहरु समेत रहेकोले बुद्ध स्थललार्य बिश्व ध्यान केन्द्रको रुपमा बिकास गर्न सक्नु पर्ने बताउनु भयो । उहाँले सरकार यस प्रकारका परियोजनाहरूमा साथ दिन तयार रहेको उल्लेख गर्दै ध्यान केन्द्र निर्माण सम्पन्न गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
नगर प्रमुख छबिलाल पौडेलले शितगंगामा ध्यान केन्द्र स्थापना गर्नु सुखद कदम भएको बताउनुभयो। उहाँले ध्यान केन्द्रले समुदायमा सकारात्मक सोच, मानसिक स्वास्थ्य प्रवद्र्धन र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो। ध्यान र अध्यात्मप्रति विश्वव्यापी चासो बढ्दै गएको वर्तमान समयमा शितगंगामा यस्तो केन्द्रको स्थापना आवश्यक ठानिएको छ। ध्यान, योग र आध्यात्मिक अभ्यासले मानिसहरूलाई शारीरिक, मानसिक र भावनात्मक सन्तुलन प्रदान गर्ने भएकाले ध्यान केन्द्रले व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
समाजसेवी बसन्त श्रेष्ठले ध्यान केन्द्रले शितगंगाको धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष योगदान पु¥याउने बताउनुभयो। उहाँले ध्यान केन्द्रले आगामी पुस्ताका लागि नैतिक, मानसिक र आध्यात्मिक शिक्षा प्रदान गर्ने उल्लेख गर्नुभयो।