शितगंगा नगरपालिका–१४ मा रहेको प्रभाकर माध्यमिक विद्यालयमा शिक्षक सरुवा तथा बढुवा भएर जाने शिक्षकको रमाना दिने विषयमा रकम मागिएको आरोपपछि विवाद उत्पन्न भएको छ।
निम्न माध्यमिक तहमा बढुवा भएर अन्यत्र जान लागेका एक शिक्षकलाई रमाना दिन ६० हजार रुपैयाँ मागिएको आरोप सार्वजनिक भएपछि घटना बाहिरिएको हो।
कानुनअनुसार बढुवा भएर जान लागेका शिक्षकले उक्त रकम दिन अस्वीकार गरेपछि विवाद थप चर्किएको बताइएको छ। यसअघि पनि शिक्षक सरुवाका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुनबहादुर बिसीले पटक–पटक रकम मागेको आरोप स्थानीयस्तरमा लाग्दै आएको बताइएको छ।
हाल सरुवा भएर विद्यालयमा आउन लागेका शिक्षक विष्णु पौडेलसँग समेत अध्यक्षलगायतले रकम मागेको र होटलको बिल तिर्न भन्दै १४ हजार रुपैयाँ लिइसकेको विषयमा समेत प्रश्न उठेको छ। विद्यालयका प्रधानाध्यापकले समेत शिक्षक विष्णु पौडेलबाट १४ हजार रुपैयाँ लिइएको विषयबारे जानकारी दिएका छन्।
यद्यपि, रकम के प्रयोजनका लागि लिइएको हो र त्यसको वास्तविकता के हो भन्ने विषय स्पष्ट हुन बाँकी छ। यसैबीच, विद्यालयको शैक्षिक अवस्था पछिल्ला केही वर्षयता नगरपालिकामै कमजोर बन्दै गएको तथा विद्यालयका अन्य आर्थिक कारोबारमा समेत अनियमितता भएको हुनसक्ने भन्दै स्थानीयले हिसाब–किताब सार्वजनिक गर्न माग गरेका छन्।
विद्यालयको आर्थिक कारोबार तथा अन्य विषयमा स्पष्ट हिसाब नबुझाएसम्म विद्यालयमा तालाबन्दी गर्ने निर्णय गरेको स्थानीय तारा न्यौपानेले बताउनुभएको छ। सोही निर्णयअनुसार विद्यालयमा तालाबन्दी गरिएको उहाँको भनाइ छ।
विद्यालय व्यवस्थापन समितिका सदस्यबीच भएको भनिएको विवादसम्बन्धी विषयसमेत सार्वजनिक भएको छ। स्थानीयले घटनाको वास्तविकता निष्पक्ष रूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। शिक्षक सरुवामा रकम मागिएको आरोप, होटलको बिलका नाममा रकम लिएको भनिएको विषय तथा विद्यालयको आर्थिक कारोबारमा अनियमितता भएको भनिएको आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया र छानबिनको निष्कर्ष भने आउन बाँकी छ।
लेनदेन अडियो सुन्न यहाँ क्लिक गर्नु होस


