शितगंगा, अर्घाखाँची ( नेकपा एमाले शितगंगा नगर कमिटीले पार्टी संगठन सुदृढीकरणका लागि वडा अधिवेशन मंसिर १ गतेबाट सुरु गरेको छ। नगरका १४ वटै वडाहरूमा आगामी मंसिर ८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ।
मंसिर १ गते पहिलो दिन वडा नम्बर १३ मा अधिवेशन सम्पन्न भएको छ। प्रमुख अतिथिका रूपमा प्रदेश कमिटी सदस्य तथा सामाजिक विकास समिति संयोजक वसन्त श्रेष्ठले वडा अधिबेसनको ब्यानर पढेर शितगंगा नगरपालिकामा दोस्रो वडा अधिबेसनको उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य धनबहादुर राना, दुर्गा बिसी, शितगंगा संसदिय दलका नेता तथा उपप्रमुख गीता भाट, नगर अध्यक्ष संजय राना, उपाध्यक्ष नवराज भुसाललगायत अन्य नेताहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भयो।
वडा नम्बर १३ मा भएको अधिवेशनमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि कार्ययोजना निर्माणमा छलफल गरिएको थियो। प्रमुख अतिथि वसन्त श्रेष्ठले अधिवेशनलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक एकता र संगठन बलियो बनाउन वडा तहको अधिवेशन महत्वपूर्ण भएको बताए। उनले स्थानीय तहमा पार्टीको बलियो उपस्थिति सुनिश्चित गर्न यस किसिमको अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
शितगंगाका १४ वटै वडामा वडा अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न जिल्ला कमिटी सदस्य तथा नगर कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। नगर अध्यक्ष संजय रानाले वडा अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गर्न सबै नेताहरूलाई सक्रिय हुन आग्रह गरेका छन्। वडा नम्बर १३ मा ऋषि भाटको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ । मंसिर ५ गते वडा नम्बर १२ मंसिर ६ गते वडा नम्बर ११ मंसिर ७ गते वडा नम्बर १ , ६ र ८ तथा मंसिर ८ गते २,४,९,१० गते हुने गरि समय तोकिएको छ भने वडा नम्बर १४ मा केहि समय अघि मात्र नया वडा कमिटी गठन भएकोले त्यसैलाई निरन्तरता दिइने छ भने ५ मा पछि मिति तोकिने नेकपा एमाले नगर कमिटीले जनाएको छ ।
पार्टीको आगामी नगर अधिवेशनलाई तयारी गर्ने उद्देश्यले यो वडा अधिवेशन आयोजना गरिएको हो। अधिवेशनको क्रममा स्थानीयस्तरका नेता(कार्यकर्ताबीच सल्लाह, सुझाव आदानप्रदान गरिने र पार्टीको भावी रणनीति तय गरिने बताइएको छ।नेकपा एमालेको वडा अधिवेशनले स्थानीयस्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। मंसिर ८ सम्म सबै वडामा अधिवेशन सम्पन्न गरि नगर अधिवेशनको तयारी गर्ने कार्यक्रम रहेको जनाइएको छ।