अर्घाखाँची, बैशाख १०, अर्घाखाँचीको सामुदायिक विद्यालय महासंघ शितगंगा नगर कमिटीले सरकारी कर्मचारी र जनप्रतिनिधीका छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्न माग सहित ज्ञापनपत्र शितगंगा नगरपालिकामा पेश गरेको छ । आज एक कार्यक्रमकाबिच शितगंगा नगरपालिकाकामा ज्ञापनपत्र पेश गरेको सामुदायिक विद्यालय महासंघ शितगंगा नगर कमिटीका अध्यक्ष माधव अधिकारीले जानकारी दिनु भएको छ । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधीहरुले आ–आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना नगरी संस्थागत विद्यालयमा भर्ना गरेको पाइएपछि ज्ञापनपत्र बुझाईएको अध्यक्ष अधिकारीको भनाई छ ।
“नेपाल सरकारको सेवा सुविधा प्राप्त सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आ आफ्ना छोराछोरी सामुदायीक विद्यालयमा भर्ना गरी यस अभियानमा जोडिन अनुरोध गर्दछौ” अध्यक्ष माधव अधिकारी र सचिव गोविन्द थापाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । शैक्षीक सत्र २०८१ को “सबै बालबालिकाको विद्यालयमा सहभागीता गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता“ भन्ने मुल नारा साथ भर्ना अभियान संचालन भईरहेको छ। ज्ञापनपत्र बुझ्दै नगर प्रमुख छविलाल पौडेल र उप–प्रमुख गिता भाटले भर्ना अभियानलाई सफल बनाउन आफुहरु तत्पर रहेको बताउनु भएको थियो। साथै जनप्रतिनिधी र कर्मचारीहरुका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने राष्ट्रिय अभियानमा यस नगरपालिकाको पनि समर्थन रहने बताउनु भयो ।