शितगंगामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

शितगंगा। शितगंगा नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ। नगर उपप्रमुख गीता भाटको अध्यक्षता तथा नगर प्रमुख छविलाल पौडेलको प्रमुख अतिथि , प्रमुख  प्रशासकीय अधिकृत कष्ण प्रसाद सापकोटा ,वडा अध्यक्ष चिन्तराज अधिकारी ,दामोमोदर ढकाल लगायतको   उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल तथा आयुर्वेद औषधालयका प्रमुख तथा इन्चार्जहरूको सहभागिता रहेको थियो।

समीक्षामा स्वास्थ्य संस्थाहरूले वर्षभरि प्रदान गरेका सेवा, कार्यक्रमगत उपलब्धि, सेवाग्राहीको पहुँच, मातृ तथा शिशु स्वास्थ्य, उपचारात्मक तथा प्रयोगशाला सेवा, रोग नियन्त्रण तथा रोकथाम, स्वास्थ्य शिक्षा, नर्सिङ तथा सामाजिक सुरक्षा, आयुर्वेद सेवा, जनशक्ति, औषधि तथा उपकरण व्यवस्थापन, अभिलेख र प्रतिवेदन प्रणालीलगायत विषयमा प्रगति तथा चुनौती प्रस्तुत गरेका थिए।

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई विशेष प्राथमिकताका साथ समीक्षा गरिएको थियो। DS तथा DR-TB को पहिचान, निदान र उपचार, जिन एक्सपर्टसहितका प्रयोगशाला परीक्षण, उपचारमा रहेका बिरामीको नियमित अनुगमन, उपचार सफलताको अवस्था, औषधि तथा ल्याब सामग्रीको उपलब्धता र मौज्दात व्यवस्थापनबारे छलफल गरिएको थियो। साथै क्षयरोगसँग सम्बन्धित एचआईभी, मधुमेह तथा कोभिड–१९ जस्ता सहसंक्रमण, बिरामीको पहिचान तथा उपचार समन्वय, क्षयरोग मुक्त नेपाल अभियान र समुदायस्तरमा सम्भावित बिरामीको समयमै खोजी तथा उपचारमा पहुँच विस्तारका विषयमा पनि समीक्षा गरिएको थियो।

त्यस्तै, अघिल्लो समीक्षा गोष्ठीमा पहिचान भएका समस्या समाधानको अवस्था, क्षयरोगका बिरामी अन्यत्र स्थानान्तरण हुँदा उपचार निरन्तरताका लागि स्वास्थ्य संस्थाबीच समन्वय, आवश्यक औषधिको तथ्यमा आधारित अनुमान तथा आपूर्ति, फाराम–फर्मेटको प्रयोग, नीति, रणनीति तथा निर्देशिकामा भएका परिवर्तन र नयाँ उपचार विधि तथा रेजिमेनबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउने विषयमा समेत छलफल भएको थियो।

समीक्षामा प्राथमिक स्वास्थ्य सेवा, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण, परिवार कल्याण, इपिडिमियोलोजी तथा रोग नियन्त्रण, कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन, स्वास्थ्य शिक्षा तथा सूचना, स्वास्थ्य तालिम, उपचारात्मक सेवा, नर्सिङ तथा सामाजिक सुरक्षा र आयुर्वेदलगायत राष्ट्रिय तथा स्थानीय स्वास्थ्य कार्यक्रमको समग्र अवस्थासमेत मूल्यांकन गरिएको थियो। उत्कृष्ट कार्यसम्पादन तथा अभ्यासको आदानप्रदान गर्दै आगामी वर्षका लागि समस्या समाधान, क्षमता अभिवृद्धि र समन्वयमा आधारित कार्ययोजना बनाउने विषयमा जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको संवेदनशील सेवा भएकाले स्वास्थ्य संस्थाहरूले सहज, सम्मानजनक, गुणस्तरीय, नागरिकमैत्री र उत्तरदायी सेवा दिनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्य संस्थाको कार्यसम्पादनसँगै अभिलेख, प्रतिवेदन, औषधि, उपकरण र सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

यसैबीच कार्यक्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा नवनियुक्त मेडिकल अधिकृत भरतमणि पौडेलको स्वागत तथा परिचय गरिनुका साथै नगर प्रमुख पौडेल, उपप्रमुख भाट र प्रमुख प्रशासकीय अधिकृत सापकोटाले संयुक्त रूपमा स्वागत गर्नुभएको थियो। स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा मेडिकल अधिकृतको महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरिएको थियो।

कार्यक्रममा शितगंगा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका सेवा, गतिविधि, उपलब्धि तथा महत्वपूर्ण विवरण समेटिएको स्वास्थ्य बुलेटिनसमेत विमोचन गरिएको छ। नगर प्रमुख पौडेल र उपप्रमुख भाटले संयुक्त रूपमा विमोचन गर्नुभएको बुलेटिनले स्वास्थ्य क्षेत्रको अभिलेखीकरण तथा आगामी योजना र निर्णय प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समीक्षाले शितगंगाको स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित, समन्वयात्मक, परिणाममुखी, गुणस्तरीय र नागरिकमैत्री बनाउने आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

>शितगंगामा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुँदैछ : स्वास्थ्य मन्त्री घिमिरे

छुटाउनुभयो कि ?