शितगंगा नगरपालिकामा भोलि चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई का लागि सम्पूर्ण तयारी पूरा भएको छ।
परीक्षा नजिकिँदै जाँदा विद्यालयहरूमा विद्यार्थी, शिक्षक र अभिभावकको व्यस्तता बढेको छ भने नगरपालिकाको शिक्षा शाखाले पनि व्यवस्थापन, अनुगमन र समन्वयलाई तीव्र बनाएको जनाएको छ।
शितगंगा नगरपालिका भर यस वर्ष नियमित तर्फ ४३६ जना र ग्रेडवृद्धितर्फ १७७ जना गरी कुल ६१३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। तर विगत केही वर्षयता विद्यार्थी संख्या निरन्तर घट्दै गइरहेको तथ्यांकले देखाएको छ, जसले विद्यालय र सरोकारवालामा चिन्ता थपेको छ। विगतमा चार वटा परीक्षा केन्द्र रहेको शितगंगामा यस वर्ष भने दुई केन्द्रमा मात्रै परीक्षा सञ्चालन हुने भएको छ। विद्यार्थी संख्या कम हुँदै गएकाले केन्द्र संख्या पनि घटाइएको शिक्षा शाखाले जनाएको छ। अब परीक्षा ज्योति माध्यमिक विद्यालय ९ठाडा० र सरस्वती माध्यमिक विद्यालय ९सितापुर० मा मात्र सञ्चालन हुनेछ।
शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलका अनुसार परीक्षा केन्द्र कायम राख्न कम्तीमा १०० जना विद्यार्थी हुनुपर्ने नियम छ। सोही नियमका आधारमा जनजागृति माध्यमिक विद्यालय र गौरा माध्यमिक विद्यालय का परीक्षा केन्द्र हटाइएका हुन्।
केन्द्रगत रूपमा हेर्दा ज्योति मावि केन्द्रमा २६३ जना र सरस्वती मावि केन्द्रमा १६३ जना विद्यार्थीले परीक्षा दिनेछन्। परीक्षा शान्त, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालन गरिएको शिक्षा शाखाले जनाएको छ। परीक्षाको अवधिभर अनुगमन टोलीसमेत खटिनेछ।
शितगंगा नगरपालिकाभित्र हाल १६ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन्। विद्यार्थी संख्या घट्दै जानु, वैदेशिक रोजगारीका कारण अभिभावक बाहिरिनु, र बसाइँसराइ जस्ता कारणले सामुदायिक विद्यालयहरूमा प्रभाव परेको सरोकारवालाहरूको भनाइ छ।
यस पटकको एसईई परीक्षालाई शितगंगाका विद्यालयहरूले ‘प्रतिष्ठाको परीक्षा’ का रूपमा लिएका छन्। नतिजा सुधारमार्फत सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने लक्ष्यसहित विद्यालयहरू लागिपरेका छन्। शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासले यस वर्ष सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरिएको छ।






