१ माघ २०८२, बिहिबार
१ माघ २०८२, बिहिबार

कपिलवस्तु मायादेवी गाउँपालिकामा अध्यक्ष मुसलमानले जनताको आन्दोलनलाई समर्थन

कपिलवस्तु – कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडामा स्थानीय र सशस्त्र प्रहरीबीच भएको झडपपछि गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले जनताको आन्दोलनलाई खुलेर समर्थन जनाएका छन्। अध्यक्ष मुसलमानले प्रशासनले सामान्य नागरिकमाथि गरेको दमन अन्यायपूर्ण भएको भन्दै त्यस्ता घटनाविरुद्ध जनता सडकमा आउन बाध्य भएको टिप्पणी गरेका छन्।

उनका अनुसार, “जब–जब प्रशासनले सर्वसाधारणलाई हैरान र परेसान पार्छ, दमन गर्छ, तब–तब जनता, सामाजिक अगुवा तथा युवा जमातले आफ्नो हक–हित र सम्मानको लागि संघर्ष गर्छन्।” उनले चेतावनी दिंदै भने, “यदि प्रशासन अनुशासित भएन भने जनता अझै ठूलो आन्दोलनमा उत्रन बाध्य हुन्छन्।”
अध्यक्ष मुसलमानले घाइते भएका व्यक्तिहरुप्रति सहानुभूति व्यक्त गर्दै सिघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

उनले घाइतेहरूको सम्पूर्ण उपचार खर्च प्रहरी प्रशासनले नै व्यहोर्नुपर्ने माग राखेका छन्। साथै, सीमा क्षेत्रमा हुने ज्यादती, सास्ति र अनियमितता तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, “जनताप्रतिको दमन रोकिने हो भने मात्रै प्रहरीप्रति विश्वास कायम हुन्छ, नभए सिंगो मायादेवी गाउँपालिका आन्दोलित बन्नेछ।”

स्थानीयवासी र प्रहरीबीचको तनाव बिहीबार साँझ ६:४० बजे चाकरचौडास्थित सीमा सुरक्षा बलको बिटमा चर्किएको थियो। स्थानीयहरू आक्रोशित हुँदै प्रहरी चौकीमाथि आक्रमणमा उत्रिएका थिए। घटनामा चार जना घाइते भएका छन्।
गम्भीर घाइते हुनेमा मायादेवी–४ का नेपाली कांग्रेस बूथ इकाई सभापति लल्कु मुसलमान रहेका छन्। उनलाई प्रहरीले लाठी प्रहार गरी गम्भीर चोट पुर्‍याएको स्थानीयले आरोप लगाएका छन्। त्यस्तै, एक जनाको हात भाँचिएको छ भने बाँकी चार जना सामान्य घाइते भएका छन्।
स्थानियका भनाइ अनुसार, आक्रमणमा प्रहरी डीएसपी हरि बहादुर गुरुङ नै अगाडि रहेर लाठीचार्ज गरेको आरोप छ। उनी घटनाको मुख्य नाइके भएको दाबी गरिएको छ।
स्थानीयले लामो समयदेखि प्रहरीमाथि अनियमितताका गुनासो गर्दै आएका थिए। भारत–नेपाल आवतजावत गर्ने यात्रुहरूबाट रकम असुल्ने, मलखादमा अत्यधिक कडाइ गर्ने लगायतका कारणले जनतामा असन्तुष्टि बढ्दै गएको थियो। केही दिनअघि पनि सीमा चौकी (बीओपी) चाकरचौडामा स्थानीय र प्रहरीबीच सामान्य विवाद भएको थियो। तर त्यसबेला परिस्थिति नियन्त्रणमा आएको थियो।
तर, बिहीबार पुनः विवाद चर्किँदा स्थानीयहरूले नियन्त्रण बाहिर गएर प्रहरी बिट नै तोडफोड गरेका थिए। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ।

अध्यक्ष मुसलमानले यस घटनालाई सामान्य नगरी गम्भीरतापूर्वक लिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्। दोषीलाई कारबाही गरी प्रहरीप्रति विश्वास पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ। उनले स्पष्ट शब्दमा भने, “यदि स्थानीयमाथिको दमन र अन्याय यस्तै दोहोरिए, मायादेवी मात्र होइन, सिंगो कपिलवस्तु आन्दोलित बन्न सक्छ।”
उनले जनताको पक्षमा उभिनु आफू गाउँपालिकाको दायित्व भएको उल्लेख गर्दै, घाइतेको उपचारदेखि न्याय दिलाउने प्रक्रियामा सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

सितगंगा नगरपालिका नगरसभाको १८औँ अधिवेशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?