२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

इलाका प्रहरी कार्यालय ठाडाद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

अराज बेल्बासे माघ ३० अर्घाखाँची

इलाका प्रहरी कार्यालय ठाडाले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्न नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासो, सुझाव तथा सुरक्षासम्बन्धी समस्याहरू पहिचान गरी समाधान खोज्ने प्रयास गरिएको छ ।

कार्यक्रममा वडा नम्बर २, सितापुरका स्थानीय नागरिकसँग अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा नागरिकहरूले सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने समस्या, टिप्परहरूको ओभरलोड, चोरीका घटनामा वृद्धि, युवा तथा विद्यार्थीहरूमा लागुऔषध दुव्र्यसनीको वृद्धि जस्ता विषयमा चिन्ता व्यक्त गरे। साथै, उनीहरूले प्रहरी प्रशासनले यस्ता समस्या न्यूनीकरण गर्न सक्रिय भूमिका खेल्नुपर्ने माग राखेका थिए। ग्रामिण स्तरमा भइरहेको गस्तीलाई निरन्तरता दिनुपर्ने सुझाव समेत नागरिकहरूले दिएका छन्।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले इलाका प्रहरी कार्यालयमा दर्ताभएका बिभिन्न मुद्धा र यिनका प्रकृतिको बारेमा जानकारी गराउनु भयो साथै बार्षिक रुपमा भएका घटना तथा कारवाहीको बिवरण समेत पेश गर्नु भयो स्थानियको प्रश्नको जवाफ दिँदै उहाँले दुर्घटना क्षति कम गर्नका लागि सचेतना अभियान सञ्चालन गरिएको जानकारी गराउनुभयो। उहाँले नागरिक सुनुवाइ कार्यक्रमबाट सेवाग्राही र सेवा प्रदायक संस्थाबीच प्रत्यक्ष सम्बन्ध स्थापना हुने तथा सुशासन, पारदर्शिता र जवाफदेहिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, प्रहरी र नागरिकबीच विश्वास बढाउन यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनेछन्। साथै, अपराध न्यूनीकरणका लागि स्थानिय तह, विद्यालय, युवा समूह तथा सरोकारवालासँग सहकार्य गर्दै सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाइने योजना रहेको बताउनु भयो ।

कार्यक्रमका क्रममा प्रहरी निरीक्षक चन्दले प्रहरीले हाल सञ्चालन गरिरहेको विभिन्न अभियानका बारेमा पनि जानकारी गराउनु भयो । उनले सवारी नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन भइरहेको र कारबाहीलाई अझ कडाइ गरिएको बताउनु भयो । साथै, टिप्पर ओभरलोड तथा गति सीमा उल्लङ्घन गर्ने गाडीहरूलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीसँग सहकार्य गरी निगरानी बढाइने बताउनु भयो ।

प्रहरी निरीक्षक चन्दले नागरिकहरूको सुझावलाई गम्भीर रूपमा लिई सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रहरी तथा नागरिकको सहकार्यबाट मात्र समाजमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सकिने उल्लेख गर्दै प्रहरी निरीक्षक चन्दले सचेतनाका लागि विभिन्न विद्यालय, सामुदायिक भवन तथा सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष राम बहादुर र्गोर्खाक्षेत्री ,वडा सदस्य नारायण क्षेत्री,वडा सचिव साबित्रा गैरेशिक्षक खडानन्द भुसाल ,स्वास्थ कार्यालय प्रतिनिधी माया क्षेत्री लगायतका स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने सुझाव दिएका छन्।कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, युवा क्लबका सदस्यहरू, शिक्षक तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रहरी तथा नागरिकबीचको आपसी समन्वयलाई अझ बलियो बनाउन निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?