न्युज पाना, शितगंगा
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता र उपमेयर गिता भाटको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको विशिष्ट उपस्थितिमा १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, प्रतिनिधि, वडा सचिव, तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गोष्ठीमा सम्पूर्ण वडाका वडा सचिवहरूले वार्षिक प्रगति तथा आगामी अपेक्षाहरूको बारेमा विस्तृत रूपमा प्रस्तुति गरेका थिए। त्यस्तै, पालिका-स्तरीय शाखा प्रमुखहरूले पनि आ-आफ्नो शाखाबाट भएका प्रगति, समस्या, चुनौती र समाधानका उपायहरू प्रस्तुत गरे। योजनासम्बन्धी शाखा प्रमुख नुमलाल खनालले नगरको आम्दानी, खर्च र योजनाको प्रगति विवरण प्रस्तुत गर्दै ४९२ योजना सफलतापूर्वक सम्पन्न भएको र वित्तीय प्रगति ९२% रहेको जानकारी गराए।
राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, र कृषिमा सुधार ल्याउने तथा बसाईसराई रोक्न पहल गर्न सुझाव दिएका थिए। प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालू खर्च कम गर्न सबैको सहयोग आवश्यक भएको र शितगंगाको प्रगति स्मरणीय रहेको बताए। उपमेयर गिता भाटले तीन तहको सरकारबीचको कानुनी बाझाबाझले काम गर्न चुनौतीपूर्ण अवस्था सिर्जना गरेको भन्दै, ती सुझावलाई मनन गर्ने बताइन्। नगर प्रमुख छविलाल पौडेलले सबै सहभागीलाई धन्यवाद दिंदै, नगरको समग्र विकासका लागि प्राप्त सुझावहरूलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे।