लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले शितगंगा नगरपालिकासहित अर्घाखाँची जिल्लाको समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै आवश्यक पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उहाँले बताउनुभयो।
शितगंगा नगरपालिका–१० मा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मन्त्री घिमिरेले पछिल्लो समय अर्घाखाँचीको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुँदै गएको बताउनुभयो। उहाँले जिल्ला अस्पतालको भवन निर्माण, चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा विस्तार र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो।
जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न नयाँ स्वास्थ्य सेवा सञ्चालनमा आएको बताउँदै मन्त्री घिमिरेले नागरिकलाई स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य संस्थाको क्षमता विस्तारमा जोड दिएको बताउनुभयो। अस्पतालको भौतिक संरचना निर्माणसँगै विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको उहाँको भनाइ छ।
उहाँले अर्घाखाँचीका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्दै लैजाने गरी योजना बनाइएको बताउनुभयो। जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य संस्थाका भवन निर्माण, सेवा विस्तार तथा आवश्यक बजेट व्यवस्थापनको काम भइरहेको जानकारी दिँदै मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाइएको स्पष्ट पार्नुभयो।
लुम्बिनी प्रदेशमा मातृ मृत्युदर अझै चुनौतीका रूपमा रहेको बताउँदै मन्त्री घिमिरेले पछिल्लो समय मातृ तथा शिशु मृत्युदरमा सुधारका संकेत देखिन थालेको बताउनुभयो। ग्रामीण क्षेत्रमा गर्भवती महिलाले समयमै सुरक्षित प्रसूति सेवा पाउन नसक्दा समस्या हुने गरेको उल्लेख गर्दै उहाँले स्थानीय तहसँगको सहकार्यमा बर्थिङ सेन्टर स्थापना र सञ्चालनलाई प्राथमिकता दिइएको बताउनुभयो।
शितगंगा नगरपालिकामा पनि मातृ तथा शिशु मृत्युदर घटाउने अभियानअन्तर्गत बर्थिङ सेन्टरको विस्तारमा जोड दिइएको मन्त्री घिमिरेले बताउनुभयो। गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति सेवा तथा आवश्यक परामर्श स्थानीय स्तरमै उपलब्ध गराउन सके मातृ तथा शिशु मृत्युदर थप घटाउन सकिने उहाँको भनाइ छ।
मन्त्री घिमिरेले स्वास्थ्य संस्था निर्माण गरेर मात्र स्वास्थ्य सेवा प्रभावकारी नहुने भन्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र नियमित सेवा सञ्चालनमा समेत ध्यान दिनुपर्ने बताउनुभयो। स्थानीय आवश्यकता र भौगोलिक अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाटले नगरपालिकाले नागरिकको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। नगरपालिकाका विभिन्न वडामा स्वास्थ्य संस्थाको पहुँच विस्तार गर्दै आवश्यक पूर्वाधार र सेवा थप गर्ने काम भइरहेको उहाँले बताउनुभयो।
उपप्रमुख भाटले ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै स्वास्थ्य संस्थासम्म नागरिकको पहुँच बढाउन नगरपालिकाले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनसँगै नागरिकलाई स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गर्ने कार्यक्रमलाई पनि प्रभावकारी बनाउँदै लगिएको उहाँले बताउनुभयो। विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्थानीय सरकारले प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ थियो।
शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवा प्रवाहलाई समेत प्राथमिकता दिइएको बताउनुभयो। स्वास्थ्य संस्थामा आवश्यक भौतिक संरचना निर्माण, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि नगरपालिकाले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले स्थानीय नागरिकलाई सामान्य स्वास्थ्य समस्याका लागि पनि टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्न वडास्तरमै स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आवश्यकताअनुसार सेवा थप गर्दै जाने नगरपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो।
शितगंगा नगरपालिका–१० का वडा अध्यक्ष केशव प्रसाद बेल्बासेले निर्वाचनका क्रममा आफूले वडावासीसँग गरेको प्रतिबद्धताअनुसार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो।
स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै वडा नं. १० का नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने बताउँदै उहाँले सामान्य उपचार तथा स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गर्नुभयो।
वडाध्यक्ष बेल्बासेले स्वास्थ्य केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनमा सम्बन्धित निकायको थप सहयोग आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य केन्द्रलाई क्रमशः थप व्यवस्थित गर्दै वडावासीले गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न आफूले निरन्तर पहल गर्ने उहाँको भनाइ थियो।
शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि शितगंगा–१० का स्थानीय बासिन्दासहित आसपासका क्षेत्रका नागरिकले समेत आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको सहकार्यमा स्वास्थ्य पूर्वाधार तथा सेवा विस्तार हुँदै गएपछि शितगंगाको स्वास्थ्य क्षेत्रमा थप सुधार आउने अपेक्षा गरिएको छ।


