अर्घाखाँची, २९ बैशाख । अर्घाखाँची सेवा समाज ले अर्घाखाँचीको शितगंगा र भूमिकास्थान नगरपालिका मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोगस्वरूप प्रदान गरेको छ । भूमिका स्थान नगर प्रमुख झविलाल थापा, शितगंगा नगरपालिकाका प्रतिनिधी, वडा अध्यक्षहरु नगरपालिका प्रतिनिधिहरु सेवा समाजका कार्यसमितिका पदाधिकारिहरु सल्लाहकारहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा प्रत्येक पीडितहरुलाई नगद खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले समाजले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका छन् । उनले उक्त सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरनुभएको थियो ।वडाअध्यक्षले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा सेवा समाजले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने कुरा बताउनु भयो।
समाजका अध्यक्ष गोपाल प्रसाद खनालले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस समाजले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न अर्घाखाँची सेवा सामाज सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा समाज अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताउनुभयो । अर्घाखाँची सेवा समाजले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा समेत बताउनु भयो ।
उक्त कार्यक्रममा बिपत ब्यापस्थापन समितिका संयोजक रोहित खनाल, सहसंयोजक रेशम खनाल कोषाध्यक्ष युवराज पाण्डे तथा सल्लाहकारहरु नारायण पाण्डे,हिमलाल भुसाल, प्रेम भुसाल र सीता खनालको टीमले आगलागी प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन गरी वास्तविक पीडितहरुलाई प्रति घर एक बोरा चामल, नून, तेल र दाल उपलब्ध गराउनु भएको थियो ्र
उक्त भीषण आगलागीबाट प्रभावित भएका शितगंगा नगरपालिकाका २२ घरपरिवार, भूमिकास्थानका ३५ घरपरिवार, मालारानी गाउँपालिकाका ३ घरपरिवार र छत्रदेव गाउँपालिकाका ५ घर परिवारलाई नगद र जिन्सी गरी करिब दुई लाख बराबरको राहत सामग्री समाजका साधारण सदस्य, इनरविल क्लब अफ सैनामैना र रूपन्देहिका समाज सेवी हरुबाट संकलन गरी उपलब्ध गराएको हो ।
’जहाँ दुख्छ त्यहाँ सेवा समाज पुग्छ’ भन्ने अभिप्राय बाट संगठित अर्घाखाँची सेवा समाज अर्घाखाँचीबाट रुपन्देहीको सैनामैनामा आई बसोबास गरेका अर्घाखाँची बासिहरुलाई एकताको सूत्रमा आवद्ध गरी एक अर्काको सामाजिक बिकास तथा प्राकृतिक बिपत्तिमा हातेमालो गर्नको लागि सक्रीय रहेको अर्घाखाँची सेवा समाजका सचिब तिलक अधिकारीले बताउनु भएको छ ।
सामाजिक आपत बिपतमा पीडितहरुको चौतारी बनेको सेवा समाजले यस पछाडि सैनामैनामा रहेका समाजमा आवद्ध क्यान्सर पीडितहरुलाई जनहि पाँच हजारका दरले उहाहरूको उपचारको लागि थप सहयोग होस भन्ने अपेक्षाले बितरण गर्ने कार्यक्रम रहेको पनि उहॉले जानकारी दिनुभयो।