न्यूजपाना , शितगंगा
शितगंगा नगरपालिकाले कृषकहरुको हरेक उत्पादनको बजारीकरणको ब्यवस्थापन गर्ने गरि कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । कृषि संकलन केन्द्र शितगंगा ४ अमराईमा निमार्णको सबै काम सम्पन्न भएर सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
किसानहरुले उत्पादन गरेको कृषि उपजहरु बिक्री नभएको गुनासो गरे पछि नगरपालिकाले किसानका उत्पादन खरिद गर्ने र नगरपालिकाले नै बजारीकरण गर्न गरि कृषि संकलन केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।
शितगंगा नगरपालिकाले स्थानिय सहकारीलाई संकलन र बिक्रीको जिम्मा दिने तयारी गरेको छ । आधारशिला साना किसान कृषि तथा पशु विकास महिला सहकारी सस्थाका प्रतिनिधी सँग समेत छलफल भइ अब काम सुरु गर्ने तयारी रहेको शितगंगा नगरपालिकाका कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिनु भयो ।
नगरपालिकाले उत्पादनमा आधारित अनुदान प्रदान गरिरहेको भए पनि दुरुपयोग भएको गुनासो आएको र कृषि गरिरहेका किसानले बजारिकरणमा समस्या भएको गुनासो गरे पछि उत्पादनको न्युनतम सर्मथन मुल्यमा अनुदान दिने र किसानका हरेक उत्पादन नगरपालिकाले नै खरिद गरिदिने गरि संकलन केन्द्रको सञ्चालन गर्न लागिएको शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनु भयो ।
यस्तै शितगंगा नगरपालिकाको कृषि शाखा प्रमुख ,उद्योग बाणिज्य संघका अध्यक्ष तथा वडा अध्यक्ष सहित सहकारीको टोलीले संघिय सरकारले तोकेको ११ तरकारी बजार अन्तरगतको रहेको बुटवल कृषि बजार ब्यवस्थापन समिति तथा बुटवल कृषि उपज थोक बजार संकलन समिति सँग कृषि उत्पादन खरिद बारे छलफल गरेको छ । छलफलको क्रममा बुटवल कृषिबजार ब्यवस्थान समितिका अध्यक्ष धनश्याम भुसालले हाल बिभिन्न जिल्लाको कृषि उत्पादन खरिद गरिरहेको जानकारी गराउदै कृषकले बजार मुल्य अनुसार उत्पादनको बजार पाउनेमा ढुक्क रहन र उत्पादन खरिदमा कुनै समस्या नरहने बताउनु भयो स्थानियतहको सिफारिस सहित आएको स्टलनै उपलब्ध समेत गराउन कृषि बजार ब्यवस्थापन समिति तयार रहेकोले किसान र ब्यापार बिचको पुलको काम समितिले गर्ने बताउनु भयो ।